काठमाडौं, कात्तिक १० । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण अन्तर्गत आज सम्पन्न खेलमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटिन पुग्यो।
१५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन र लोकेश बमले २६ रनको योगदान दिए। विष्फोटक ब्याटर आन्द्रे रसेलले १७ बलमा ३३ रन जोड्दै टोलीलाई जित दिलाउने प्रयास गरे पनि अन्य ब्याटर टिक्न नसक्दा टोली अलआउट हुन पुग्यो।
चितवनका लागि कमल ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। यस्तै, रिजन ढकालले २ विकेट हात पारे भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १-१ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको मजबुत योगफल खडा गरेको थियो। चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७० रनको योगदान दिए। यस्तै, रवि बोपारा ३२ रन र दान माउजली २९ रनमा अविजित रहे। बलिङतर्फ विराटनगरका चार फरक बलरले १-१ विकेट लिएका थिए।




