काठमाडौं, कत्तिक ८ । नेपालीहरूको महान् चाड बडादसैं आजदेखि औपचारिक रूपमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने ‘कोजाग्रत पूर्णिमा’ का अवसरमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा–आराधना गरी रातभर जाग्राम बसेर दुर्गापक्षको बिदाइ गरिँदैछ।
धार्मिक विश्वास अनुसार आजको दिन सायंकालमा महालक्ष्मीको पूजा गरी राति जाग्राम बस्ने व्यक्तिको घरमा माता महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सुख–समृद्धि प्रदान गर्नुहुन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाकै दिनमा सम्पन्न हुने शास्त्रीय मान्यता छ। लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको विशेष आराधना गरिने भएकाले यस पर्वको छुट्टै आध्यात्मिक र धार्मिक महत्व छ। कौमुदी नामले समेत चिनिने यस रातमा जुवा खेल्ने परम्परागत विधानसमेत रहिआएको छ।
विजयादशमीका दिन टीका लगाउन छुटेका वा टाढा–टाढाबाट आवतजावत गर्नेहरूले आजैका दिनसम्म मान्यजनबाट टीका र जमरा थपिदिने प्रचलन छ।
सौभाग्य, सम्पत्ति र श्रेय प्राप्तिको कामनासहित आजैदेखि आकाशदीप दान गर्ने कार्यको पनि सुरुवात हुन्छ। यस अवसरमा घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याई त्यसमा बत्ती (दियो) बाल्ने परम्परा छ। यसरी बालिने आकाशदीपलाई पितृहरूको मार्गदर्शन तथा दिवङ्गत आत्माको शान्तिका लागि प्रज्वलन गरिने धार्मिक विश्वास छ।




