काठमाडौं, फागुन २४ । जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आज सरकारलाई आफ्नो अन्तिम प्रतिवेदन बुझाएकाे छ।
गत भदौ २३ र २४ गते भएका घटनाहरूको सूक्ष्म जाँचबुझ गरी तयार पारिएको उक्त प्रतिवेदन आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनअघि नै प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब भए पनि निर्वाचन सम्पन्न भएपछि मात्रै आयोगले यो प्रक्रिया अघि बढाएको हो। प्रतिवेदनमाथि अब बस्ने मन्त्रिपरिषद् बैठकले अध्ययन गर्ने र दोषीमाथि कारबाही तथा प्रतिवेदन सार्वजनिक गर्नेबारे आवश्यक निर्णय लिने बताइएको छ।
भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने उद्देश्यले असोज ५ गते प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा उक्त आयोग गठन गरेको थियो।




