काठमाडौं, असोज १६ । अस्ट्रेलियामा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरेर सरकारले ल्याएको कठोर नियम आज (अक्टोबर २) देखि कार्यान्वयनमा आएको छ।
गृहमन्त्री टोनी बर्कको नीतिअनुसार अब अध्ययनरत कोर्सभन्दा माथिल्लो तहमा जानेबाहेक अन्य विद्यार्थीले अस्ट्रेलियाभित्रैबाट (अनसोर) भिसा आवेदन दिन पाउने छैनन्। उनीहरूले अनिवार्य रूपमा देश बाहिरबाटै (अफसोर) आवेदन दिनुपर्नेछ। साथै, विद्यार्थीहरूले परिवारका सदस्यहरूलाई समेत साथमा लैजान नपाउने नियम लागू भइसकेको छ।
नेपाली विद्यार्थीलाई ठुलो झट्का
अस्ट्रेलिया सरकारले छनोट प्रक्रियामा व्यापक कडाइ गरेसँगै नेपालबाट उच्च शिक्षाका लागि आवेदन दिने विद्यार्थीहरूको भिसा अस्वीकृत हुने दर बढेर ६४ प्रतिशत पुगेको छ। नेपाली विद्यार्थीको प्रमुख आकर्षणको केन्द्र मानिने अस्ट्रेलियामा कडा नियम र उच्च भिसा अस्वीकृति दरका कारण त्यहाँ पुग्ने सपना देखेका विद्यार्थीहरूका लागि मार्ग निकै कठिन बन्दै गएको छ।




