महेन्द्रनगर, असोज १६ । भारतको धार्चुलास्थित धौलीगंगा जलविद्युत परियोजनामा बाँधको गेदग्रान (सिल्ट) सफाइ गर्ने कार्यका कारण महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनका अनुसार शनिबारदेखि सोमबारसम्म बाँधका ढोकाहरू खोलेर सिल्ट पन्छाउने काम गरिनेछ। ४८ घण्टासम्म चल्ने यो मर्मत तथा सफाइ कार्यले महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढाउन सक्नेछ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा शनिबार राति १:०० बजेदेखि सोमबार राति १:०० बजेसम्म नदीमा पानीको सतह उच्च रहन सक्ने भएकाले तटीय क्षेत्र र जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सचेत र सतर्क रहन विशेष आग्रह गरिएको छ।




