काठमाडौं, असोज १५ । मनास्लु क्षेत्रस्थित मनाङको हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ। नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले कठिन भौगोलिक र मौसमी परिस्थितिका बाबजुद यो अभियान जारी राखेको छ।
आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्की नेतृत्वको अनुभवी उद्धार टोलीले हिमालयन होलिडेजसँगको समन्वयमा यो खोजी अभियान सञ्चालन गरिरहेको छ। हिमपहिरोमा परेका अन्य बेपत्ताहरूको खोजी कार्य निरन्तर भइरहेको र घटनासम्बन्धी थप विवरणहरू पछि सार्वजनिक गरिने संघले जनाएको छ।




