चितवन, असोज १५ । भरतपुर महानगरपालिका–१५ स्थित ‘न्यु होप एग्रो बिजनेस नेपाल प्रालि’ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ। गुणस्तरहीन तथा दूषित दाना उत्पादन गरी बिक्रीवितरण गरेको पाइएपछि गत साउन १४ गते कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार दानाको गुणस्तरकम भएको गुनासो परेपछि दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाही अगाडि बढाइएको हो। ‘हामीले अहिले दाना पदार्थ ऐनअनुसार मुद्दा चलाएका छौँ, धरौटी लिएर थप अनुसन्धान भइरहेको छ। यसको फैसला प्रमुख जिल्ला अधिकारीले गर्नुहुन्छ,’ उनले जानकारी दिए।
हाल विचाराधीन अवस्थामा रहेको यस मुद्दामा दोषी ठहरिएमा दाना पदार्थ ऐन, २०३३ बमोजिम २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले बताएका छन्।




