तानसेन (पाल्पा) असोज १४ । लगातार चार दिनसम्म परेको अविरल वर्षाका कारण जमिन चिरा परेपछि पाल्पाको माथागढी गाउँपालिका–४ स्थित देवगीर (खलिपोखरा) बजार पहिरोको उच्च जोखिममा परेको छ।
बासटारी–झडेवा–दुम्कीबास बहुप्रादेशिक सडकअन्तर्गत बजारको बीच भागबाटै करिब २०० मिटर लामो धाँजा फाटेपछि सिङ्गो बस्ती नै सङ्कटमा परेको हो। स्थलगत अनुगमनका क्रममा लुम्बिनी प्रदेश सांसद खेमबहादुर सारुले सडकको मध्य भागमा फाटेको चिरा १ इन्च फराकिलो र करिब ५ फिटसम्म गहिरो रहेको जानकारी दिए।
सडक भासिएर धाँजा फाटेपछि देवगीर बजार र आसपासका करिब ३० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। खास गरी सडकको दक्षिणतर्फ रहेका स्थानीय बालकृष्ण न्यौपाने, महेन्द्र केसी, केशरजंग श्रेष्ठ र अर्जुन श्रेष्ठलगायतका घरहरू चर्किएका छन्। पहिरोको जोखिम बढेपछि स्थानीयवासीले प्लास्टिक तथा त्रिपाल ओढाएर धाँजा फाटेको ठाउँमा वर्षाको पानी पस्न नदिने प्रयास गरिरहेका छन्।
बस्ती नै उच्च खतरामा परेपछि प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा प्राविधिक इन्जिनियरहरूको संयुक्त टोलीले सो क्षेत्रको स्थलगत अध्ययन तथा निरीक्षण गरेको छ। प्राविधिक टोलीले थप क्षति हुन नदिन र बस्ती सुरक्षित राख्न आवश्यक कदम चाल्ने जनाएको छ।




