काठमाडौं, असोज १२ । नेपालमा हाल एकैसाथ तीनवटा मौसम प्रणालीको प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपास अवस्थित छ।
यी मौसमी प्रणालीको प्रभावका कारण पछिल्लो समय देशको मौसममा सुधार देखिएको छ। हाल अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। हिमाली भू–भागमा आंशिक बदली रहे पनि पहाडी तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदलीसम्म रहेको महाशाखाले जनाएको छ।
यद्यपि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अधिकांश भू–भागमा भने घाम लाग्ने तथा मौसम सामान्य रहने अनुमान गरिएको छ।
दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
राति देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।




