काठमाडौं, असोज १९ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयताका विपद् व्यवस्थापन कार्य निरन्तर भइरहेको बताउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’को २१औँ बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार बिना कुनै सम्झौता विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पार्नुभयो।
गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको उक्त बैठकमा प्रधानमन्त्री शाहले भन्नुभयो, “हामीसँग उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्नेछौँ। यस विषयमा सबै ढुक्क हुनुहोस्।”
प्रधानमन्त्री शाहले भोटेकोशी, त्रिशूली, गण्डकी लगायतका क्षेत्रमा आएको बाढीपहिरोको क्षतिको अध्ययनसँगै व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिनुभयो। विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुका साथै हिमपहिरोको जोखिम घटाउन पनि आवश्यक काम भइरहेको उहाँको भनाइ छ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो ज्यानको बाजी लगाएर विपद् व्यवस्थापन र उद्धारमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभयो।




