काठमाडौं, असोज १९ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनसम्बन्धी औपचारिक प्रक्रिया सुरु हुनेछ। पहिलो चरणमा सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोध गर्न सकिनेछ। त्यसपछि ६ः३० देखि ७ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
अपराह्न ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबी–विरोध गर्न सकिनेछ। ५ः३० देखि ६ः३० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ भने साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने तथा उम्मेदवारी सच्याउन निवेदन दिने समय तोकिएको छ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारहरूले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते मतदान
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि काठमाडौँमा तीनवटा मतदान केन्द्र तोकिएको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशअन्तर्गतका महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्।
प्रज्ञा भवनमा भने गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। निर्धारित समयभित्र मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।




