काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो।
बन्द सत्रका लागि आवश्यक एजेन्डा तय गर्न खुलामञ्चमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। चिया–नास्ता तथा खाजा सकेर नेताहरू बैठकस्थल खुलामञ्चमा आउन थालेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार १५औँ महाधिवेशनको बन्द सत्रमा पेस हुने विभिन्न प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले छलफल गरी पारित गरेपछि मात्रै बन्द सत्र सुरु हुनेछ।
उनले भने, “पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ। उहाँहरूले आ–आफ्नो जिम्मेवारीअनुसार प्रस्ताव पेस गर्नुहुन्छ। त्यसका आधारमा बैठकले एजेन्डा अनुमोदन गरेपछि सोहीअनुसार बन्द सत्र सञ्चालन हुन्छ।” उनका अनुसार बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी–विरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ। प्राप्त दाबी–विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारीलाई तीव्रता दिएको छ।
मंगलबार उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुनेछ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल, भेटघाट र चुनावी तयारीलाई तीव्र बनाउँदै आएका छन्।




