काठमाडौं, असोज १९ । लामो समयदेखि अघि बढ्न नसकेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण कार्य अन्ततः अन्तिम चरणमा पुगेको छ। विगत १२ वर्षदेखि रोकिएको यस आयोजनाअन्तर्गत बाँकी रहेका १६ मध्ये १४ वटा टावरको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी २ वटा टावर खडा गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले आगामी दसैँलगत्तै यस प्रसारण लाइनलाई ‘चार्ज’ (सञ्चालन) गर्ने गरी तीव्र गतिमा काम गरिरहेको छ।
यो प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको राष्ट्रिय विद्युत् प्रणाली थप सुदृढ, भरपर्दो र गुणस्तरीय बन्नेछ। साथै, स्वदेशी औद्योगिक विद्युत् माग पूर्ति, आन्तरिक खपत वृद्धि र भारतसँगको अन्तर्देशीय विद्युत् व्यापार विस्तारमा समेत यसले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




