काठमाडौं, असार १४ । प्रतिनिधिसभा बैठकमा सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको माइक काटिएको छ।
बैठकको विशेष वा शून्य समयमा आफ्नो निर्वाचन क्षेत्रको विषयमा कुरा राखिरहेका सांसद खनालले बोल्ने क्रममा आसनमा आसिन सभामुखलाई ‘कर्मचारी महोदय’ भन्दै सम्बोधन गरेका थिए। संसदीय मर्यादा विपरीत सभामुखलाई कर्मचारी भनी सम्बोधन गरे लगत्तै सभामुखको निर्देशनमा उनको माइक काटिएको हो।
चिया दानी रेष्टुरेन्टका सञ्चालक समेत रहेका र आफ्नो खरो प्रस्तुतिका कारण चर्चामा आउने गरेका सांसद खनालको संसदीय मर्यादा र संसद्भित्रको प्रस्तुतिका विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चा तथा आलोचना सुरु भएको छ।




