काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक नेतृत्व र अधिवेशनको विवाद अदालतसम्म पुगेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दलको नेता चयन गर्ने अधिकार अदालतलाई नभई महाधिवेशनलाई मात्र भएको बताएका छन्।
पार्टीभित्र देखिएको पछिल्लो किचलो र अदालतमा दर्ता भएका निवेदनहरूप्रति लक्षित गर्दै प्रवक्ता चालिसेले भने, “काँग्रेसको नेता को हो, अब अदालतले तोक्नुपर्ने? महाधिवेशन र अधिवेशन रोक्न निवेदन हाल्ने? यो सुन्दा र देख्दा हरेक कांग्रेसीको मन बेचैन छ।”
दलको नेता चयन नियमित वा विशेष अधिवेशनले गर्ने स्पष्ट पार्दै उनले पार्टीभित्रै विश्वास गुमाएर अदालत धाउने शैलीले लोकतान्त्रिक दललाई न्याय नगर्ने बताए। “दलभित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत? यो शैलीले दललाई न्याय गर्दैन,” उनले भने, “काङ्ग्रेस भित्र देखिएको यो असन्तुष्टि नितान्त व्यक्तिगत छ। कानुनी विवादको फैसला अदालतको इजलासले गर्ला, त्यो आफ्नो ठाउँमा छ; तर लाखौँ कार्यकर्ताको मतको इजलासले गर्ने फैसला अदालतभन्दा शक्तिशाली हुन्छ।”
चालिसेले अग्रज नेताहरूलाई अधिवेशन रोक्नेतिर नभई प्रक्रियालाई विश्वसनीय बनाउन आग्रह गरेका छन्। “अग्रज नेताहरूलाई आग्रह छ, हाल देखिएको समस्याको समाधान भनेको महाधिवेशन रोक्नु होइन, महाधिवेशनलाई विश्वसनीय बनाउनु हो,” उनले भने, “फरक विचार छ? नेतृत्वप्रति असहमति छ? विकल्प प्रस्तुत गर्नुछ? महाधिवेशनमा जाऔँ। त्यहीँ आफ्नो विचार राखौँ, बहस गरौँ, कार्यकर्ताको मत मागौँ र लोकतान्त्रिक निर्णय स्वीकार गरौँ।”
पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिँदै उनले विधानले तोकेको समयसीमा (मंसिर) समाप्त हुन लागेकाले अदालतको निर्णय पर्खेर लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने चेतावनी दिए।
“हामीले नेताहरूलाई नेता मानेकै छौँ, सम्मान गरेकै छौँ। आवश्यक परे मत पनि दिउँला,” प्रवक्ता चालिसेले भने, “तर नेताप्रतिको सम्मान पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन सक्दैन। कांग्रेसलाई अदालतको विवादमा होइन, कार्यकर्ताको विश्वासमा उभ्याऔँ।”




