काठमाडौं, फागुन ७ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले अघि सारेको निर्वाचन संकल्प ‘प्रतिज्ञा पत्र’ का बारेमा पार्टी सभापति एवं प्रधानमन्त्रीका दाबेदार गगनकुमार थापासँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना गरिने भएको छ।
जनकपुरमा बुधबार सार्वजनिक गरिएको उक्त संकल्प पत्रका विषयमा पार्टी सभापति गगनकुमार थापाले दिउँसो १ बजेदेखि ‘हाम्रो प्रतिज्ञा: तपाईंको प्रश्न’ कार्यक्रममार्फत प्रत्यक्ष जवाफ दिनेछन्। राजनीतिक दलहरू जनताप्रति जवाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्न नहुने मान्यताका साथ आयोजना गरिएको यस कार्यक्रममा भौतिक रूपमा उपस्थित सहभागीहरूका साथै प्रविधिको प्रयोग गरी विश्वभर रहेका नेपालीहरूले समेत प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था मिलाइएको छ।
‘भिजन टेन’ अन्तर्गत आगामी पाँच वर्षका लागि कोरिएको विकासको खाकाबारे नागरिकका जिज्ञासा मेटाउन लागिएको यो अभ्यास नेपालको राजनीतिक इतिहासमै पहिलो भएको दाबी गरिएको छ, जसलाई देशभरका सयौँ सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्। विशेषगरी युवा पुस्ता र जनचासोका मुद्दाहरूलाई कसरी सम्बोधन गरिँदैछ भन्ने विषयमा सभापति थापाले स्पष्ट पार्ने अपेक्षा गरिएको छ।




