काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्र जारी छ। हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल हुँदैछ।
यी चारै पदाधिकारीको प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने तयारी गरिएको छ। यसअघि हिजो महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित भइसकेको छ। संशोधित विधानअनुसार निर्वाचन प्रक्रिया पनि अघि बढाइएको छ।
नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभागृहमा चलिरहँदा बन्द सत्र भने खुलामञ्चमा भइरहेको छ। महाधिवेशनमा निर्वाचनतर्फ प्रतिनिधिहरूको आकर्षण बढेपछि खुलामञ्चमा चहलपहल तुलनात्मक रूपमा कम देखिएको छ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार तीनवटा हलमा सम्बन्धित क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने व्यवस्था गरिएको छ। सुरुवातमा छुट्टाछुट्टै हलमा छलफल गरिए पनि प्रतिनिधिको उपस्थिति कम भएमा सबैलाई एउटै हलमा समेटेर छलफल तथा प्रतिवेदन पारित गर्ने योजना रहेको उनले बताए।
संयोजक आचार्यले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफलपछि पारित गरिने जानकारी दिए।




