काठमाडौं, असोज २० । आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरूको बैठकले देशभरका लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ देखि खुला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले तोकिएको मितिदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ।
लगातारको वर्षा, बाढी र पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध बनेका मुख्य राजमार्गहरू तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने सरकारको प्रतिबद्धतापछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
यस निर्णयसँगै चाडपर्वको बेला घर जाने तयारीमा रहेका यात्रुहरूलाई टिकट लिन सहज हुने अपेक्षा गरिएको छ।




