काठमाडौं, असोज २० । सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको र पदीय आचरण विपरीत काम गरेको गम्भीर आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन सुरु भएको छ। गृह मन्त्रालयले दाहालमाथिको आरोपबारे छानबिन गर्न सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई मन्त्रालयले यो जिम्मेवारी दिएको हो। सशस्त्र प्रहरी नियमावलीको व्यवस्थाबमोजिम गठन गरिएको यो छानबिन समितिले दाहालमाथि लागेका आरोपहरूको सूक्ष्म जाँचबुझ गर्नेछ।
गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकिएका पोखरेललाई तीन दिनभित्र विस्तृत प्रतिवेदन मन्त्रालयमा पेस गर्ने कार्यादेश दिएको छ। मन्त्रालयले जाँचबुझ प्रतिवेदन प्राप्त भएपश्चात् प्राप्त तथ्य र सिफारिसका आधारमा दाहालमाथि थप कानुनी तथा विभागीय कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।




