काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षा गर्दै संगठन सुधार, सुशासन, आर्थिक विकास, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा अघि सारिएको छ।
प्रतिवेदनमा आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिह्न र एजेन्डासहित चुनावमा जाने तथा उम्मेदवार छनोटमा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ।
थापाले कांग्रेसले पछिल्ला दुई दशकमा पद र सत्तालाई प्राथमिकता दिएको, गुटबन्दी तथा भागबन्डाले पार्टीको नैतिक धरातल कमजोर बनाएको स्वीकार गरेका छन्। भदौ २३/२४ को जनउभारलाई नागरिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा समीक्षा गर्दै घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।
प्रतिवेदनमा ३८ सिटसहित प्रभावकारी प्रतिपक्षको भूमिका, ‘छायाँ सरकार’, ओपन–सोर्स नागरिक ड्यासबोर्ड, निजी क्षेत्रसँग सहकार्य, उत्पादनमुखी अर्थतन्त्र, पूर्ववितरणात्मक न्याय, रोजगारी, जलवायु परिवर्तन, एआई तथा डिजिटल प्रविधि, संघीयता र संक्रमणकालीन न्यायलगायत विषय समेटिएका छन्।
त्यस्तै, पार्टीभित्र भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र ‘ओम्बुड्सम्यान’, प्रधानमन्त्रीलाई अधिकतम दुई कार्यकालको सीमा, निर्वाचन सुधार, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, युवाका लागि विशेष कार्यदल तथा शहीद, घाइते र विस्थापितका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदनको मूल सन्देश ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ रहेको छ। नीति, संगठन र कार्यक्रमको नियमित समीक्षा गर्दै परिणामका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली विकास गर्ने थापाको प्रस्ताव छ।




