काठमाडौं, असोज १९ । नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीपछि खाद्य तथा कृषि संस्था (FAO) ले आफ्नो विश्वव्यापी आपत्कालीन सम्बोधन क्षमता प्रयोग गर्दै नेपालको पुनरुत्थान प्रयासमा सहयोग पुर्याइरहेको छ।
कृषि क्षेत्रका जीविकोपार्जन, उत्पादनशील सम्पत्ति र ग्रामीण पूर्वाधारमा पुगेको क्षतिको लेखाजोखा गर्न FAO मुख्यालयको आपत्कालीन सञ्चालन टोलीले FAO नेपालको टोलीसँग मिलेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
स्थलगत भ्रमणका क्रममा टोलीले स्थानीय अधिकारी, प्राविधिक निकाय तथा व्यावसायिक र अर्ध-व्यावसायिक माछापालक कृषकलगायत प्रभावित समुदायसँग छलफल गरेको थियो। यसबाट बाढीले पुर्याएको क्षतिको वास्तविक अवस्था र तत्काल गर्नुपर्ने पुनरुत्थानका प्राथमिकताहरू पहिचान गर्न मद्दत पुगेको छ। बाढीका कारण कैयौँ कृषक परिवारले आफ्ना सदस्य, घर, पशुचौपाया, माछा र आयआर्जनका मुख्य स्रोतहरू गुमाउनुपरेको पाइएको छ।
नेपाल सरकार, संयुक्त राष्ट्रसंघका साझेदार संस्था, प्रदेश तथा स्थानीय सरकार र प्राविधिक निकायहरूसँगको निकट सहकार्यमा FAO ले तथ्याङ्क-आधारित योजना र एकीकृत मूल्याङ्कनमा सहयोग गरिरहेको छ। यसले गर्दा अति प्रभावित समुदायसमक्ष समयमै र लक्षित राहत तथा पुनरुत्थान सहायता पुर्याउन सहज हुनेछ।




