काठमाडौं, असोज २० । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय मर्यादा र जिम्मेवारीविपरीत गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङले मंगलबार आफ्नो फेसबुकमार्फत राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन्। पदले सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनले स्पष्ट पारेका छन्।
उनले गृह मन्त्रालय र मातहतका निकायबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने उल्लेख गरेका छन्।
गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिइने चेतावनी दिएका छन्।
उनले भनेका छन्, “राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।”
गृहमन्त्रीको यस्तो धारणा गृह मन्त्रालय तथा मातहतका निकायमा संवेदनशील सूचना व्यवस्थापन र गोपनीयताको विषयलाई लिएर आएको हो। गृह मन्त्रालयको आधिकारिक विवरणमा पनि सुधन गुरुङलाई गृहमन्त्रीका रूपमा उल्लेख गरिएको छ।




