काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनमा सहभागी ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको तयारी पूरा गरेको छ। निर्वाचन समितिका सदस्य–सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारहरूलाई मनोनयन दर्ता फारम वितरण गरिनेछ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। उम्मेदवारी दिन चाहनेले सभागृह परिसरमै प्रभु बैंकका कर्मचारीमार्फत तोकिएको शुल्क बुझाई रसिद लिएर मनोनयन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार उल्लेख्य रूपमा बढाएको छ। सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ। त्यस्तै, पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था गरिएको छ। अब उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्याउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्रीको पद थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। पार्टीले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने जनाएको छ।
कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारीको संख्या १४ थियो। यसपटक प्रतिनिधित्व र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमिति तथा पदाधिकारीको संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ।
नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै कांग्रेस महाधिवेशन थप प्रतिस्पर्धात्मक बन्दै गएको छ।




