तनहुँ, १ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल आफूले चुनाव जित्नेमा ढुक्क देखिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहित भएका छन् ।
उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी दिएका छन् । जोशीको उम्मेदवारी पौडेलको जितमा बाधक बन्न सक्ने अड्कलबाजी भइरहेको बेला एमालेले पनि उम्मेदवारी दिएपछि पौडेल आफूले जित्नेमा ढुक्क भएका छन् ।
२५ वर्ष काँग्रेस एकछत्र
तनहुँमा प्रजातन्त्र स्थापनाको साढे दुई दशकसम्म कांग्रेसले एकछत्र निर्वाचन जित्दै आएको थियो । २०७४ मा भने संघ र प्रदेशको सबै सिट वाम गठबन्धनको पोल्टोमा पुग्यो । त्यसबेला वाम गठबन्धनका तर्फबाट संघीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका कृष्णकुमार (किसन) श्रेष्ठ र केदार सिग्देल विजयी भएका थिए ।
प्रदेश सभा निर्वाचनमा पनि वाम गठबन्धनका तर्फबाट किरण गुरुङ, रामबहादुर गुरुङ, हरिबहादुर चुमान र आशा कोइराला निर्वाचित भएका थिए। नेकपा विभाजनपछि किरण र रामबहादुर एमालेमा लागे। चुमान र कोइराला माओवादी केन्द्रमा लागे ।
तनहुँमा प्रतिनिधि सभाका दुईसहित प्रदेश सभाका चार सिटका लागि आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन र एमालेका सहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यका लागि सातौँ पटक चुनावी मैदानमा छन् ।
२०४८ सालमा पहिलो पटक चुनाव लडेका उनी लगातार ६ पटकसम्म विजयी भएका थिए । २०७४ को निर्वाचनमा भने नेता पौडेल एमालेका उमेदवार कृष्णकुमार (किसन) श्रेष्ठसँग पहिलो पटक पराजय भएका थिए ।
लामो समयदेखि केन्द्रीय राजनीतिमा प्रभाव जमाएका पौडेलको प्रतिस्पर्धा एउटै पार्टीमा रहेर राजनीति गरेका सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदैछ ।
स्थानीय तहको अंकगणित
स्थानीय तह निर्वाचनमा वडागत मतको आधारमा कांग्रेसले ३३ हजार १ सय ६ मत प्राप्त गरेको छ। नेकपा एमालेले २६ हजार २ सय १० मत प्राप्त गरेको छ। माओवादीले ८ हजार ४ सय ७४ र एकीकृत समाजवादीले ९८२ मत प्राप्त गरेको छ।
गठबन्धनका दलको भोट एमालेको भन्दा झण्डै १६ हजार बढी छ। यही गठबन्धनको भोटको बलमा यसपटकको निर्वाचनमा चुनाव जित्ने दाउमा पौडेल देखिन्छन्। जोशी भने कांग्रेसको ३३ हजारमध्ये बहुमत भोट आफूलाई आउने र बाँकी एमाले, समाजवादी, माओवादीको मत क्रश गराएर चुनाव जित्ने दाउमा छन्।
स्थानीय तहको निर्वाचनमा सीमित ठाउँमा मात्र उम्मेदवार उठाएकाले थोरै मत आएको नेकपा समाजवादी अहिले तनहुँको गठबन्धनमा सहभागी नभएकाले उसको झण्डै तीन हजार मत कसलाई जान्छ भन्ने निश्चित भएको छैन ।

तनहुँ– १ मा स्थानीय तहको निर्वाचनमा एमालेले २६ हजार २१० मत पाएको थियो। अहिले एमालेले एकबहादुर राना मगरलाई त्यस क्षेत्रको उम्मेदवार बनाएको छ। राना त्यस क्षेत्रको लोकप्रिय उम्मेदवार हुन्। उनी यसअघि तत्कालीन कांग्रेसका उम्मेदवार गोविन्दराज जोशीसँग तीन पटकसम्म चुनावमा पराजित भएका थिए।
तनहुँ क्षेत्र नं १ को स्थानीय तहमा कांग्रेस, एमाले र स्वतन्त्रका उम्मेदवारले पाएको मतलाई आँकलन गर्दा पौडेल, राना र जोशीबीच त्रिपक्षीय भिडन्त हुने निश्चित देखिन्छ। तर, पौडेल गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएकाले सहयात्री दलकै मतको बलमा चुनाव जित्ने निश्चित जस्तै छ ।





