काठमाडौँ, ६ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार ४९ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले ४ वटा निर्वाचन क्षेत्रमा जीत निकालेको छ । नेकपा एमालेले ३८ ठाउँमा अग्रता कायम राख्दै २ ठाउँमा जीत दर्ता गरेको छ ।
मंगलबार दिउँसो ४ः१५ बजेसम्म प्राप्त जानकारीअनुसार नेकपा माओवादी केन्द्रले १५ र राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा मतगणनामा अग्रता कायम गरेका छन् । नेकपा एकीकृत समाजवादीले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनता समाजवादी पार्टीले ४ ठाउँमा अग्रता लिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेको छ भने अझै ३ ठाउँमा अग्रस्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टी २ ठाउँमा अगाडि देखिएको छ । अन्य पार्टीहरु १० ठाउँमा मतगणनामा अगाडि देखिएका छन् ।
समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ८४,८१५ मत ल्याएको छ । नेपाली काँग्रेसले ७१,५२५ मत ल्याएको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३६,१०९ मत ल्याउँदा नेकपा माओवादी केन्द्रले ३२,७२५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २०,०५४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ३,७४५ मत पाएको छ । जनता समाजवादी पार्टीले ६,०३६ र नागरिक उत्थान पार्टीले ३,७७६ मत पाएका छन् ।




