वीरेन्द्रमणि पौडेल ।
पिताजी भीममणि पौडेललाई विदा गरेको करिब ६ बर्षपछि माता दिलकुमारीलाई ७६ बर्षको उमेरमा अघिल्लो महिनाको कार्तिक बीस गते आँसुको बलिन्द्रधारा चुहाउँदै देवघाटमा पु¥याएर खरानी पारियो ।
संसारमा जन्म लिएका सबै मान्छेका दुईओटा आमा हुन्छन् – एउटा, शरीर दिने आमा र अर्को, जन्मिएको धर्ती आमा । संसारका सबैले यही महसुस गर्छन् र लेख्छन् “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि” अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ । मेरो पनि दुईओटा प्यारा आमा थिए । दुईमध्ये एक आमा सधैंका लागि विदा हुनुभो । एउटा बाँकी छिन् । बाँकी रहेकी आमाको आयु चाहीँ पृथ्वीको आयु बराबर होस् भन्ने कामना गरेको छु ।
आफू आधापेट खाएर, ज्यानमा हड्डी र छालामात्रै हुने अवस्थामा पुग्दा समेत सन्तानको मायामा सबथोक बिर्सिने आमा दसओटा सन्तानलाई हुर्काउने आँट गर्ने यो युगको कमै भौतिक शरीर प्राप्त आमाहरुमध्ये मेरो आमा एक हुनुहुन्थ्यो भन्ने मेरो मनमा छ । कात्तिक १७ गते राती करिब २ बजेतिर आमा श्वास फेर्न नसकेर होस गुम हुने अवस्थामा पुग्नुभो । हतारहतार ज्वाई डा. प्रदीप पन्थीको कारमा राखेर भुवन दाइ, ज्वाइँ र मैले अस्पताल पु¥यायौं । होस गुमेको अवस्थामा परिवर्तन आएर केही घण्टा अफ्ठ्यारो मान्दै बोल्न थाल्नुभो । आफन्तहरुले केही समयका लागि जिउँदै भेट्न र कुराकानी गर्न भ्याए । तेश्रो दिन सकिँदा नसकिँदै आमाको श्वासप्रश्वास बन्द भो । मैले मेरो फेसबुकमा आमा बित्नुभो भन्ने खबर लेखेँ । एक मिनेटभित्रै अमेरिकाबाट बबिता श्रेष्ठले कल गरिन् । अनौठो मानेर आमालाई के भएको थियो र भन्दै थिइन् । मेरो आवाज काँपेको बुझेर “ल ल सर टेक केयर” भन्दै लाइन काटिन् । शुभचिन्तकहरुले निरन्तर कल गर्न लागे । आमाको शवलाई घर लगियो र तुलसीको मोठ अगाडि राखियो । छिमेकी र शुभचिन्तकहरु जम्मा हुन थाले । सबै प्रक्रिया पूरा गरे देवघाट लगियो र आमाको शवलाई दागबत्ती दिइयो । आँखामा आँशु टिलपिल पार्दै ६ दाजुभाइ कपाल खौरिएको टाउको लिएर घर फर्कियौं ।
गाउँका भाइहरु, काका र ठूलाबाका छोराहरुले सबैखाले सहयोग गरे । बिहान एकपटक र बेलुका एकपटक पण्डित उमाकान्त मरहट्ठाले झैं ज्यादै खटेर यसपटक स्वर्गीय ठूलाबा भोलाचन्द्र पौडेलका पुत्र श्याममणि पौडेलले हामी किरियामा बसेका दाजुभाइलाई सहयोग गरे । काँचो केराको बन्दोबस्त गर्ने, छोडाउने र घ्यूमा तारेर हामीलाई खुवाउने काम तिनले गरे । “मर्दा पर्दा काम लागे पो नाता भन्नु, होइन भने किन नाता लगाइरहनु” भन्ने भनाइ यसपटक श्याममणि दाइको मद्दतले सावित गरिदियो । हामी उनीप्रति नतमष्तक छौं । उनको हामीमाथिको सहयोग चाहेर पनि बिर्सिन नसक्ने खालको रह्यो ।
जाडो शुरु हुनहुन लागेको बेला तेह्रदिनसम्म विहानविहान नुहाउने, तर्पण दिने गदैं गर्दा २१ गतेदेखिनै शुभचिन्तक र आफन्तहरु भेटी बोकेर आउन थाले । गोविन्द अर्यालसहित चितवन पोष्टका कर्मचारी साथीहरु आए । चितवनका प्रायः सबै पत्रकारहरु पालैपालो हामीलाई सहानुभूति दिन हामी किरिया बसेको स्थानमा आए । नेपाली काँग्रेसका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. भोजराज अधिकारी, नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल, एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेहरु हामीलाई सहानुभूति दिन आए । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिति रह्यो । बार एसोसियसन चितवनका पूर्वअध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारी, शिवकुमारी पाण्डे भण्डारी, नारायणी टुडेका वरिष्ठ सल्लाहकार बाबुराम पाण्डे, साहित्यकार डिआर पोखरेल, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट सचिव सिर्जना अर्याल र कोषाध्यक्ष सहित अन्य पत्रकार साथीहरु, सौराहाका होटल ब्यवसायी र चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरु, निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका कर्नेल र अन्य अफिसरहरु लगायतले हाम्रो दुःखमा सहानुभूतिका शव्दहरु दिने काम गरे । वचत तथा ऋण सहकारी संस्था र विभिन्न सामाजिक संघ संस्थाहरुबाट पनि प्रतिनिधिहरु उपस्थित भएर हामीलाई उर्जा प्रदान गरे । धेरैभन्दा धेरै मानिसको साथ सहयोगले हामीलाई मातृवियोगको वेदना थेग्न मद्दत मिल्यो ।
मंसिर ४ गते चुनाव हुनेवाला थियो । मंसिर १ गतेसम्म म किरियामा बस्नुपर्ने भयो । पत्रकार हुनुको नाताले आफ्नो काम मैले मोबाइलबाटै गर्ने प्रयास गरेँ । पत्रकार साथीहरु र संचारमाध्यमबाट कुन उम्मेदवारको अवस्थाका कस्तो छ बुझिरहेको थिएँ । किरियामा बस्नुअघि नै मैले जनअभिमत संकलन गरिरहेको थिएँ । चिया पसलदेखि अस्पतालसम्म, सुपरमार्केटदेखि जाँडभट्टीसम्म धेरैले यसपटक घन्टीलाई भोट दिने भन्दै थिए । कारण सोद्धा कुनै चाखलाग्दो जवाफ नदिइ जवाफमा मतदाताहरु भन्थे “एकपटक घन्टी बजाउने हो ।” जनमतको आधारमा मैले चितवन पोष्टमा लेखेँ “रवि लामिछानेले उमेश श्रेष्ठ र कृष्णभक्त पोखरेलको निधारबाट खल्खली पसिना निकाल्नेवाला छन् ।”
पत्रकारले झुठ लेख्दा राष्ट्रघात हुन्छ । मलाई नक्कली कुरा लेख्ने छुट छैन । मैले आफ्नो मत कसलाई दिने मात्रै मेरो निजी कुरा हो, विचार र समाचारै नक्कली लेख्ने वा बोल्ने छुट मलाई छैन । स्थलगत रिपोर्टिड्डका आधारमा मैले आफ्नो विचार चितवन पोष्टमा लेख्दा केही राजनीतिक विश्लेषकहरु राम्रैसँग झस्किए तर चुनावमा होमिएका दलहरुले उतिसारो गम्भीरताकासाथ लिएनन् । झस्किए त्यतिबेला जतिबेला घन्टीघन्टी भन्दै मौन अवधि शुरुहुनु अघिल्लो दिन नारायणी किनारमा झिलीमिली बत्तीसहित हजारौं मतदाता भेला भए । हुन पनि त्यस्तै भयो । रवि लामिछानेले शिक्षाक्षेत्रमा नेपालमा नाम कमाएका मेहनती नागरिक उमेश श्रेष्ठ र नेपालको संविधान बनाउन र विभिन्न ऐनहरु बनाएर मुलुकलाई ठूलै गुन लगाएका अधिवक्ता कृष्णभक्त पोखरेललाई निकै धेरै मतान्तरले हराए ।
जन्मिएको ६ महिनामै घन्टीवाला पार्टीले समानुपातिक र प्रत्यक्षगरी २०–२२ सिटको हाराहारीमा संसदमा प्रतिनिधित्व गर्ने अवस्था किन र कसरी आयो ? हामी त अध्ययन, अनुसन्धान र विश्लेषण गर्छौं नै, अरुले पनि गर्लान् । दलहरु मुलुक हाँक्ने सवालमा कहाँ र कसरी चुके ? एक नेता र अर्को नेता बीचको तिक्ततापूर्ण सम्बन्ध र एक दल र अर्को दलबीचको अनावश्यक दुरी खडा गरिएको अवस्थाबाट जनता निराश भएका त होइनन् ? यसतर्फ घोत्लिने छन् छैनन् त्यो भोलिको बिषय हो तर २००३ सालमा जन्मिएर राणा धपाउन ज्यानको बाजी लाउने सातसाले नेपाली काँग्रेस, २००६ सालमा जन्मिएर जनताले आफैं शासन गर्ने ब्यवस्था प्राप्त गर्ने लडाइँमा होमिएका कम्युनिष्टहरुलाई एकै झट्कामा तर्साउने घन्टीबारे अध्ययन भने यिनले जरुर गर्लान् । यदि आफ्नै कमजोरीबाट जनता साँच्चै टाढिएका हुन् भने अब दलहरुले आफ्ना कार्यशैली बिनाहिच्किचाहट बदल्नुपर्छ । जनताको विश्वास जित्ने प्रयास निरन्तर गरिरहनु पर्छ ।
चुनावी माहौल तातिएको बेला म आफू भने २ र ३ गते मात्रै प्रत्यक्ष मतदाता कहाँ जान भ्याएँ । वातावरण घन्टीमय नै पाएँ । २ नम्बर क्षेत्र मात्रै घन्टीमय थियो । किरियामा बस्दा १ नम्बर र ३ नम्बरमा समेत घन्टीको प्रभाव बढिसकेको रहेछ । उता १ नम्बरमा नेकपा एमालेका एउटा बलिया खम्बा सुरेन्द्र पाण्डे र सत्ता गठबन्धनका काँग्रेसी उम्मेदवार विश्व पौडेललाई पनि घन्टीवाला चुनावी भेलले बगायो । हरि ढकाल नामका एक सामान्य भूतपूर्व कम्युनिष्ट कार्यकर्ताले हराइदिए । ३ नम्बरमा कसैले नचिनेको जीता बराल तेश्रो भइन् ।
सबैले एउटा एउटा पार्टीलाई मत दिन्छन् । मैले पनि मताधिकार प्रयोग गर्नुथियो । हजारौं मान्छेका बीच मैले केपी ओलीलाई दिएको वचन पूरा गर्नुथियो, मैले पूरा गरेँ । चुनावमा जीतहार हुन्छ । यो सामान्य हो । फेरि पाँच वर्षपछि अर्को आवधिक निर्वाचन हुन्छ । यसपटक जित्नेले अर्कोपटक हार्न सक्छ । जनताको मन समयसमयमा परिवर्तन भएको अवस्थालाई प्रमाण मान्दा पनि भन्न सकिन्छ कि सधैंभरि एकै पार्टी वा व्यक्तिले जीत हासिल गर्दैन । यसपटक जितेकाहरु सबैलाई बधाई । हारेकाहरुलाई सहानुभूति र अर्को निर्वाचनमा सफलता हासिल गर्न जनताको मन जित्नेतर्फ लाग्न अनुरोध ।
मेरो प्राणप्रिय माता दिलकुमारीको महाप्रस्थानबाट म र मेरो परिवाजनलाई परेको कष्ट, वेदना र महाचोटमाथि मलहम लगाउन भौतिक रुपले उपस्थित हुनुहुने र विभिन्न सञ्चारमाध्यमबाट समवेदना व्यक्त गर्नुहुने सबैसबै प्रियजनहरुलाई हार्दिक धन्यवाद ।




