चितवन क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित उत्तम जोशीको पारिवारिक पृष्ठभूमि राजनीतिक भएकैले उनी बाल्यकालमै २०४६ सालको जनआन्दोलनमा सहभागी भए । २०४६ सालमा जोशीका मामा शंकरकान्त जोशी जेल परे लमजुङमा । जेलमा मामालाई भेट्न आमा जाँदा जोशी पनि आमाको पछि लागेर गए । मामा किन जेल परेका होलान् भनेर बालजिज्ञासा शान्त पार्ने क्रममा उनले मामालाई पञ्चायतले जेल हालेको भन्ने थाहा पाए । त्यसपछि जोशी आफ्नो मामालाई जेल हाल्ने पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधिमा लागे । आज उनी प्रदेशको सांसद भएका छन् ।
प्रदेशको सांसद बन्नुपूर्व जोशीले विद्यार्थी र पार्टी राजनीतिमा धेरै वर्ष बिताएका छन् । आठ कक्षा पढ्दा २०४८ सालतिरै तनहुँको जनजागृति माध्यमिक विद्यालय नेवि संघ इकाइ समितिको अध्यक्ष बनेका जोशीले २०५१ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि २०५२ सालमा बालकुमारी कलेजमा भर्ना भए । कलेजमा पनि नेवि संघ कलेज इकाइ समिति सदस्यदेखि सचिवसम्म बने । २०५३ सालमै स्ववियू सदस्य बने । बालकुमारी कलेजको ईकाई सभापति ,स्व.बि.यु.सभापतिको उमेदवार भए ।
नेवि संघको सातौँदेखि एघारौँ महाधिवेशनसम्म उनी केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । यसबीचमा उनी नेवि संघ चितवनको सभापतिदेखि केन्द्रीय सदस्यसम्म बने । उनले राजनीतिसँगै पढाईलाई पनि अगाडि बढाएर बालकुमारी कलेजबाटै स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पढाई पूरा गरे ।
नेपाली काँग्रेसको एघारौँ महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट भरतपुर १० को पार्टी वडा सचिव बने । १२ औँ अधिवेशनबाट १० नम्बर वडा सभापति र १३ औँ महाधिवेशनबाट चितवन जिल्ला समितिको सचिव निर्वाचित भए । १४ औँ महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा जिल्ला समिति सभापतिको प्रत्यासी बने । पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नआएपछि सर्वसम्मत सभापति चयनका लागि उनले बाटो प्रशस्त गरिदिए । त्यसपछि प्रदेश सभा सदस्यको लागि पार्टीबाट टिकट पाएर निर्वाचनमा जित हासिल गरे । प्रस्तुत छ, बागमति प्रदेश सभा सदस्य उत्तम जोशीसँग नवीन खबर डट कमका प्रधानसम्पादक सूर्यप्रकाश कँडेलद्वारा लिइएको अन्तर्वार्ता :
चुनाव सकियो, सपथ ग्रहण बाँकी छ । प्रदेश सभा बैठक आह्वान भएको छैन । हिजोआज दिनहरु कसरी बितिरहेका छन् ?
हो, चुनाव सकियो । परिणाम आइसक्यो । चुनाव जितेको प्रमाणपत्र पाइसकेँ तर सपथ ग्रहण बाँकी छ । प्रदेश सभा बैठक आह्वान नभएको अहिलेको समयलाई सदुपयोग गर्दै मैले जनताबीच जाने काम गरिरहेको छु । जनताका समस्या बुझ्ने, समाधानका लागि पहल गरिदिने, मतदातालाई भेटेर धन्यवाद दिने काममा दिनहरु बितिरहेका छन् ।
अलिकति विगतलाई नियालौँ । तपाइँको पारिवारिक पृष्ठभूमि राजनीतिक छ । त्यसमाथि नेपाली काँग्रेसको राजनीतिमा पारिवारिक संलग्नता छ । तपाइँ राजनीतिमा आउन कसको प्रेरणा रह्यो ?
म बाल्यकालदेखि नै राजनीतिक गतिविधिमा आकर्षित भएँ । त्यतिबेला राजनीति के हो भन्ने मलाई थाहा थिएन, तर जानीनजानी म राजनीतिक गतिविधिमा संलग्न हुन पुगेँ । २०४६ सालमा मामा जेल परेपछि आमासँग मामालाई हेर्न म पनि गएँ । त्यहीँबाट मेरो मनमा राजनीतिक गतिविधिप्रति आकर्षण उत्पन्न भयो । मलाई राजनीतिमा आउने प्रेरणा आमाबाटै प्राप्त भएको हो ।
आमाको राजनीतिक संलग्नता कुन तहको थियो ?
२०४६ सालमा बहुदल आएपछि आमाले महिला संघ जिल्ला सदस्य र गाउँ समिति अध्यक्ष भएर काम गर्नुभयो । मामाघरको हजुरबुवा चन्द्रकान्त जोशीको बारेमा त आदरणीय नेता बिपी कोइरालाले जेल जर्नलमै उल्लेख गर्नुभएको छ । मेरो आफ्नै दाइ अमिर जोशीले नेवि संघ र तरुण दलमा काम गर्नुभयो । पछि मकाउमा रहँदा दाइ नेपाली काँग्रेसनिकट जनसम्पर्क समितिको संस्थापक सभापति नै बन्नुभयो । त्यहाँबाट प्रतिनिधित्व गरेर महाधिवेशन प्रतिनिधि भई राजनीतिमा क्रियाशील रहनु भयो । अहिले उहाँ अमेरिकामा हुनुहुन्छ ।
अब वर्तमान प्रसंगलाई नै जोडौँ । पार्टीको जिल्ला सभापतिको दौडमा रहँदारहँदैको अवस्थामा प्रदेश सांसदमा निर्वाचित हुनुभएको छ । यो सबै कसरी सम्भव भयो ?
पार्टीभित्र धेरै जनाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने चाहना राख्नुभएको थियो । मेरो क्षेत्रमा पार्टीको रोजाई र मूल्यांकनमा म परेँ । तीन दशकदेखि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा निरन्तर लागेको छु । मेरो स्वभाव, जीवनशैली, संगठन निर्माणको कुशलता हेरेर होला पार्टीले मलाई ठाउँ दियो । मतदाताले मत दिनुभयो । अनि सांसद बन्न सम्भव भयो ।
निर्वाचनका बेला मतदातासमक्ष पुग्दा तपाइँले विभिन्न प्रतिवद्धता जनाउनु भएको थियो । ती प्रतिवद्धता पूरा गर्न के कस्ता योजना छन् तपाइँसँग ?
जनताबाट बहुमत पाएर निर्वाचित भएपछि अब मैले नेपाली काँग्रेसको जिल्ला र केन्द्रबाट जारी प्रतिबद्धतापत्रलाई फलो गर्नुपर्छ । मेरो निर्वाचन क्षेत्रभित्र पर्ने भरतपुरका सात वटा वडामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटनलाई फोकस गरेर काम गर्नुपर्नेछ । सीपमुलक तालिम दिएर महिला र युवालाई प्रेरणा दिँदै उनीहरुलाई आफ्नै देशमा केही गर्न प्रेरणा दिन, उत्पादन र आयआर्जनसँग जोड्न भूमिका खेल्नेछु ।
भरतपुरमा रहेको डुबानको समस्या समाधानका लागि एकीकृत ढल निर्माणको काम गर्नुपर्ने देखेको छु । आँपटारीदेखि गणेशधाम, राइनो तालहुँदै बिसहजारी ताललाई जोडेर पर्यटनको विकास गर्नेबारे सोच बनाएको छु । शिक्षा र स्वास्थ्यलाई कसरी सर्वसुलभ बनाउन सकिन्छ भन्नेमा मेरो प्राथमिकता रहन्छ । मठ, मन्दिर, गुम्बाको संरक्षणसँगै सहकारी र सामुदायिक वनहरुलाई व्यवस्थित गर्नुपर्नेछ ।
भूमिहीनलाई लालपूर्जा वितरण गर्ने काम बाँकी छ । किसानले समयमा मल र बीउ नपाउने समस्यालाई प्रदेशको तर्फबाट के गर्न सकिन्छ ? त्यसबारे काम गर्नु पर्नेछ । पोल्ट्री क्षेत्र र तरकारीखेतीलाई पनि सम्बोधन गर्नुपर्ने छ । समग्रमा भन्नुपर्दा समाजको रुपान्तरण र परिवर्तनको लागि देखिने गरेर काम गर्ने ठूलो इच्छा छ ।
केही नवनिर्वाचित सांसदहरुमा अहिले धरानका मेयर हर्क साम्पाङ राई वा काठमाडौँका मेयर बालेन्द्र शाहको प्रभाव देखिन थालेको छ । फिल्डमा एक्सनमा जान थालेका छन् । कतै ती सांसदहरुले आफ्नो काम, कर्तव्य र मर्यादा भुलेका त होइनन् ?
सचेत नेपाली नागरिकका हैसियतले समस्याका बारेमा उठान गर्नुपर्छ । समाधानका लागि पहल गर्नुपर्छ । म आफैँ पनि धर्मचोकको बाटो निर्माणमा किन ढिलाई भयो भनेर सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय भरतपुरमा गउँ । माननीयको हैसियतले भन्दा पनि सचेत नागरिकको हिसाबले गएको हुँ । सरकारी अस्पताल पनि पुगेँ । ज्येष्ठ नागरिकले छुट्टै टिकट काउण्टर, बिलिङ काउण्टर, ओपिडी चाहियो भन्नुभयो । क्यान्सर अस्पताल पुगेँ, त्यहाँ पनि सेवाग्राहीहरुको गुनासाको चाङ छ ।
काम गर्ने शैली आआफ्नो हुन्छ । सांसदको मर्यादा आफ्नो हुन्छ । मर्यादामा पनि बस्नुप¥यो । जनप्रतिनिधि भएको नाताले जनताको गुनासो सुन्नु पनि पर्छ । समाधानको लागि काम पनि गर्नुपर्छ । सदन चल्दा मैले देखेका समस्या सदनमा राख्नेछु । सदन नचलेको अवस्थामा जाने भनेको त जनताबीच नै हो नि ।




