तनहुँ, १६ पुस ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति झट्ट ट्रयाक बाहिर गए पनि छिट्टै ट्रयाकमा आउने बताएका छन् । निर्वाचनपछि गृहजिल्लामा नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा नेता पौडेलले यस्तो धारणा सुनाएका हुन् ।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टले समस्या समाधान गर्न नसक्ने धारणा राख्दै गठबन्धन टुटेकोमा दुःख ब्यक्त गरे । यसबारे कार्यसमितिमा निर्मम समीक्षा गरिने उनले बताए । गठबन्धनका सूत्रधार नेता पौडेलले धैर्य भएर जनताको सेवक बन्न र विकासमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यकर्तालाई निरास नहुन आग्रह
वरिष्ठ नेता पौडेलले बदलिँदो अवस्थामा निरास नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको शनिबार आयोजित १०औँ साधारणसभामा बोल्दै नेता पौडेलले सत्ता नहुँदैमा निरास नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरेका हुन् ।
अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, “कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।”
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्दै जनताको मन जित्न सक्नुपर्ने बताए ।




