काठमाडौं साउन १६
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज महँगी विरुद्ध जनप्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै जनप्रदर्शन गर्न लागेको हो।
जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने एमालेले जनाएको छ। वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने बताइएको छ।




