चितवन साउन १८
लगातारको वर्षसँगै झरेको पहिरोले अवरूद्ध हुंँदै आएको नारायणगढ- मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।
चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो । अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो ।




