काठमाडौं साउन २०
परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी मंगलवार छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी तीन दिने भ्रमणका लागि चीन जान लागेको पराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्का र चीनका विदेश मामिलामन्त्री वाङबीच छिङदाओमा बुधवार द्विपक्षीय वार्ता हुने छ । चिनियाँ विदेशमन्त्री वाङले खड्काको सम्मानमा बुधवार रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई मन्त्रीबीचमा हुने छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।
परराष्ट्रमन्त्रीसहितको टोली बिहीवार नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बिहीवार सरकारले निर्वाचन घोषणा गरेलगत्तै तय भएको परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । केहीसमय यता दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरूका साथै नेपाली अधिकारीहरूले पनि दुई देशमा भ्रमण गर्ने क्रम बढेको छ । केही समय पहिले अमेरिकी उप विदेशमन्त्रीले समेत नेपालको भ्रमण गरेका थिए ।




