एजेन्सी ।
चीनको सिचुवान प्रान्तमा सोमबार गएको भूकम्पमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरूको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सिचुवान प्रान्तले अहिले कोरोना महामारी र लामो खडेरीको पनि सामना गरिरहेको छ । सिचुवानको राजधानी छेङ्दुमा अहिले १ हजार जना सक्रिय संक्रमित रहेको भन्दै त्यहाँ लकडाउन गरिएको छ । सिचुवान भूकम्पको उच्च जोखिम भएको चिनियाँ प्रान्त हो ।
सन् २००८ मा ८ दशमलव २ म्याग्निच्युडको भुकम्प जाँदा ६९ हजार मानिसको मृत्यु भएको थियो । सन् २०१३ मा सिचुवान प्रान्तको अर्को शहर यानमा ७ म्याग्निच्युडको भूकम्प जाँदा २ सय जनाको मृत्यु भएको थियो ।




