चितवन, २७ असोज ।
खैरहनी नगरपालिका–१२ इचर्नीमा करेन्ट लागेर बिहीबार अन्दाजी १२ वर्षको भाले गैंडाको मृत्यु मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । “खागका लागि गैंडा मारेको जस्तो त देखिन्न । बंगुर फार्ममा बत्ती बाल्न लगेको तारलाई घाँस खाँदै गर्दा चपाएको झैं देखिन्छ । थप अनुसन्धान जारी नै छ”, तिवारीले भने ।
बिजुलीको तारमा घिरौंलाको झ्याङ गएको र घिरौलाको झाल चपाउँदै गर्दा तार चबाएर करेन्ट लागेको हुनसक्ने स्थानीयको भनाइ छ । गैँडा मरेको घटनामा तत्काल कोही पक्राउ नपरेको तिवारीले बताए ।
यसअघि साउन ५ गते निकुञ्जको पश्चिम क्षेत्र नवलपुरको अमलटारीमा करिब डेढ महिनाको एउटा पोथी बच्चा गैंडा मृत भेटिएको थियो । आमासँग छुट्टिएका कारण उक्त गैंडाको मृत्यु भएको हुनसक्ने तिवारीले बताए ।




