मोरङ, ३१ असोज ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन् । मोरङको सुन्दरहरैचा ५ मा भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।
‘लडाइँ शेरबहादुरजी र मेरो हो । तलबाट माथिसम्म । त्यो लडाइँ सकिइसक्यो । शेरबहादुर र म एकै ठाउँमा उभिएका छौं,’ उनले भने, ‘म पटकपटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु । मेरा कुरा सुनिरहनुभएको छ मानिरहनुभएको छ । तपाईंहरू तल किन लडिरहनुभएको छ मैले बुझेको छैन । के को लागि लडेको ? के पाउनुहुन्छ ? केही पाउनुहुन्न ।’
‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन ? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन ? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन,’ कोइरालाले भने ।

गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह गर्दै नेता कोइरालाले भने, ‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो ? अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो । त्यो तुषलाई सबैले त्यागौँ । मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन ।’




