चितवन, ६ असोज ।
विक्रम सम्वत् १९८७ साल असोजको फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी सुश्री मैयाँदेवी श्रेष्ठले २०७९ साल असोज ६ गते एकाबिहानै (१ः१० बजे) महाप्रस्थान गरिन् । उनको निधनले चितवन शोकाकुल भएको छ । चितवनको पछिल्लो आठ दशकको जीवित इतिहास श्रेष्ठको अवसानले अपुरणीय क्षति भएको छ ।
वीरगञ्जमा डिठ्ठा रहेका बुबा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किएकी थिइन् मैयाँ । नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कूललाई १०कठ्ठा जग्गा दान गरेकी मैयाँले दार्जिलिङदेखि शिक्षक बोलाएर उक्त विद्यालयमा पठनपाठन शुरु गराएकी थिइन् । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ ।
दानवीर मैयाँका कर्महरुको सूची लामो छ । भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च गरिन् उनले । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तरसम्मको पढाइ हुन्छ ।
२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद बनेकी मैयाँले काँग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गरेकी छन् । चितवन काँग्रेसका लागि नारायणगढको कमलनगरमा भवन दान गरेकी उनले गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान गरेकी थिइन् ।
जताततै जग्गादान
नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गरेकी मैयाँले प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि जग्गा दान गरेकी थिइन् । पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्न्यास आश्रमलाई देवघाटमा, पतन्जली योग समितिलाई नारायणगढमा, नेवा पुःचलाई नारायणगढमा उनले जग्गादान गरेकी थिइन् ।
आजीवन अविवाहित मैयाँले आफ्नो जीवनकालमा धर्मछोराहरु, आफन्ती र अन्य सेवकहरुलाई पनि जग्गादान गरिन् । सेवा गरेका धर्मछोराहरु टंकनाथ पौडेल, ऋषिराम गौतम, हरिनारायण सापकोटा र मधुराम दुवाडीलाई जीवन चल्ने गरी नारायणगढ बजारमा जग्गादान गरेकी उनले दाइका छोराहरु प्रेमकुमार श्रेष्ठ, सिद्धकुमार श्रेष्ठ र बुहारी कल्याणी श्रेष्ठलाई पनि जग्गा दिएकी छन् ।
आफूले हुर्काएका नारायणगढका कृष्णप्रसाद श्रेष्ठलाई बजारमै र भान्से इन्दिरा ढकाललाई देवघाटमा घडेरी दिएकी छन् । पूजारी रामबहादुर कार्की र उनकी श्रीमती देवीलाई देवघाटमा घडेरी दिएकी मैयाँले यौवन अवस्थादेखिकी साथी विष्णुमाया श्रेष्ठलाई नारायणगढ बजारमा घडेरी दिएकी छन् । श्रेष्ठकी आफन्त मन्दिरा श्रेष्ठलाई देवघाटमा र बुबाको अन्त्यष्टीमा पाल्पाबाट झिकाएका पण्डित शिस्वानी बाजे र बजैलाई पनि उनले नारायणगढ बजारमा घडेरी दिएकी छन् ।
पुरेत षडानन्द लामिछानेलाई नारायणगढमा, ट्रष्टका सचिव हरि ढकाललाई देवघाटमा, पूर्वमन्त्री चित्रलेखा यादवलाई देवघाटमा, ठूलीआमाको छोरा कृष्णभाइ प्रधानलाई देवघाटमा जग्गादान गरेकी उनले नातिनीहरु उन्नति अधिकारी र श्रेया पौडेललाई समेत घडेरी दिएकी छन् ।
पूर्वप्रबन्धक खोपमबहादुर र सहयोगी काजीरामकी श्रीमतीलाई बसेनीमा घडेरी दिएकी छन् । पछिल्लो पटक उनले नेपाली काँग्रेसका सस्थापक बी.पी. कोइरालाका छोरा शशांक कोइरालालाई भरतपुरमा झण्डै एक करोड पर्ने जग्गादान गरेकी छन् । बचेको सम्पत्ति उनकै नाममा रहेको मैयाँदेवी ट्रष्टमा राख्ने गरी उनले दान गरिसकेकी छन् ।




