चितवन, २० पुस ।
भरतपुर महानगरपालिका ८ गोन्द्राङमा रहेको मास्टर सेफ फुड इन्डष्ट्रीज प्रा.लि.ले नेपालमा बासमती चामलको आफ्नो मुख्य ब्राण्ड ‘हेलो बासमती’ लाई बजार प्रवेश गराएको छ । मंगलबार साँझ गैँडाकोटमा एक कार्यक्रमको आयोजना गरी हेलो बासमती चामलको बजार प्रवेश (लन्च) गरिएको हो ।
भारतीय बजारमा ३५ वर्ष पुरानो हेलो बासमती चामल शिवकृति एग्रो प्रा.लि.ले उत्पादन गर्दै आएको छ । शिवकृतिको नेपालका लागि आधिकारिक बिक्रेता मास्टर सेफले कार्यक्रमको आयोजना गरी हेलो बासमती चामललाई बजार प्रवेश गराएको थियो ।
उक्त अवसरमा बोल्दै शिवकृतिका निर्देशक रञ्जितसिंह राघवले नेपालका टप ब्राण्डका बासमती चामलमा ६० प्रतिशत पनि बासमती चामल नपाइने र बासमती चामलमा अन्य चामल मिसाइने गरेको दाबी गरे । हेलो बासमतीमा ९० प्रतिशत बासमती चामल नै रहेको उनको दाबी छ ।
मास्टर सेफका अध्यक्ष प्रभाकर पण्डितले शिवकृतिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र यसले नेपाली बजारमा उत्कृष्ट बासमती चामल उपलब्ध गराउन आफूहरु सफल भएको बताए । पण्डितसहित चितवनका पूर्ण कँडेल, हरि न्यौपाने, श्याम कँडेल र मुकुन्दहरि गौतम मिलेर मास्टर सेफ कम्पनीको सुरुवात गरेका हुन् ।




