जनकपुरधाम २४ पुस
शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्यु भएपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीको मृत्युपछि विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ।
आन्दोलनकारीहरुलाई तितरवितर पार्न प्रहरीले ५ राउण्ड हवाई फायर र ३ सेल आश्रु ग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए ।
मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराको स्प्रिट सेवनबाट मृत्यु भएको हो। शुक्रबार औषधि खानका लागि उनले पानी मागेपछि शिक्षिक अम्बिका लम्सालले माउण्टेन ड्यूको बोतलमा रहेको स्पिरिट दिएकी थिइन्।
सिर्जनाले पानी ठानेरै स्पिरिट खाएपछि बेहोस् भएकी थिइन्। उपचारको लागि उनलाई कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा लगेकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो।
घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आज विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन्। उनीहरुले बिहान साढे १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्गमा विद्यार्थीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन्। आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।




