//सूर्यप्रकाश कँडेल//
तीन दिनअघि मंगलबार बिहान ८ बजेर ४० मिनेट जाँदा फेसबुकमा साहित्यकार कृष्ण धरावासीले एउटा स्टाटस पोस्ट गरे, जसको तरंग अझै सेलाएको छैन । पारिश्रमिकको खोज भनुँ वा पुस्तकहरुमा लेखिने भूमिकाको भाउ, त्यो स्टाटस यिनै विषयमा केन्द्रित थियो । के थियो त त्यो स्टाटसमा ?
कृष्ण धरावासीको फेसबुक स्टाटस
“जुनसुकै लेखकले पनि पुस्तक तयार भइसकेपछि छाप्नु अघि प्रुफ हेर्ने, लेआउट गर्ने, कागज किन्ने, प्लेट बनाउने, छपाउने, बाइन्डिङ गर्ने, बिक्रेतालाई छुट दिने सबैका लागि खर्चको व्यवस्था गरेको हुन्छ । उसले केवल त्यसको भूमिका लेखक र समीक्षकले मात्र निशुल्क लेखिदिने वा बोलिदिने गर्नुपर्छ भन्ने सोच राखेको हुन्छ । जबकि ऊ पुस्तक प्रेसमा दिनुभन्दा एक साता अघि पनि पाण्डुलिपि पठाउन सक्छ र उसको समयभित्र लेखिदिनुपर्ने दवावसहित उपस्थित हुन्छ । पुस्तक विमोचनभन्दा तीन दिन अघि चार सय पृष्ठको किताब लिएर सगौरव उपस्थित भई बाक्लो चिया वा एक छाक भान्सै गरी पर्सी सबै किताब पढेर बहुत राम्रो बोलिदिन घरको काम लगाएर जान्छ । कत्ति नजरशर्मी हुनू ? शोषण जहाँ र जसबाट पनि भइरहेको हुन्छ । आज सित्तैमा पाइने बस्तु के छ बजारमा ? कुनै पनि सहरमा पुगे गोजीमा पाँच रूपैयाँ नभए पिसाब फेर्न पाइँदैन । बिस रूपैयाँको नोट गोजीमा नभए एक कप चिया आउँदैन । एक मुठो रायोको सागलाई तीस रूपैयाँ चाहिन्छ । हातले लेख्नु परे कागज चाहिन्छ । कलम र त्यसमा हाल्ने मसी चाहिन्छ । ती चिज बारीमा वा गमलामा फल्दैनन् । कम्प्युटरमा लेख्नु परे त्यसको लागि कम्प्युटरको ह्रासकट्टी हुन्छ । बिजुली खर्च हुन्छ । इमेल गर्नु परे इन्टरनेटको खर्च परेको हुन्छ । सम्बन्धित पाण्डुलिपि पढ्न लागेको समय, त्यसका लागि गर्नु परेको मानसिक श्रम, लेख्न लाग्ने समय, आफूले वर्षौं लगाएर बनाएको व्यक्तित्वको मूल्य । यी सबैलाई विचार गर्दा एउटा विशिष्ट व्यक्तिले लेखिदिएको कुनै भूमिकाको मूल्य कसैले तिर्न सकेको होला ? कुनै माइक्रो वा बसले बिना भाडा चढाउँदैन । कुनै डाक्टरले निःशुल्क जाँचिदिदैन । कुनै फार्मेसीले मधुमेहको औषधि निःशुल्क दिंदैन । कसैको पुस्तक विमोचनका लागि सात दिन लगाएर मनै नलागेको किताब पढिदिएर आफैंले गाडी भाडा तिरेर समयमै पुगिदिएर मनै नपरे पनि फूलबुट्टा भरेर विज्ञापनीय प्रवचन गरी चिसा सिंगडा खाएर कतिन्जेल फर्किरहने कुनै ज्येष्ठ लेखकले ? नेपाली बजारमा के लेखकले मात्र झार्लाङ्गी भइरहने हो र ? हरेक बस्तुको मूल्य तोकिएको हुन्छ । अब हाम्रो लेखनको मूल्य पनि आफैंले तोक्ने हो । नबिके बिक्दैन । कम्तिमा यो बेकारको अनुत्पादक श्रमको शोषणबाट मुक्ति त मिल्छ । अबदेखि मैले बिनापारिश्रमिक कुनै पनि सम्पादन, भूमिका, पुस्तक समीक्षा, पाण्डुलिपि पढी राय सुझाव नदिने निर्णय गरेको छु । यसको लागि कसैलाई असजिलो भएमा क्षमा चाहन्छु ।”
कृष्ण धरावासीको यो स्टाटसमाथि २१२ वटा कमेन्ट अर्थात् टिप्पणी र ४९० वटा रियाक्ट अर्थात् प्रतिक्रिया आएका छन् । ४५ जनाले त यो स्टाटस शेयर नै गरेका छन् । ती टिप्पणीमध्ये हाल बेलायतमा रहेका नारायण गाउँलेको टिप्पणी उल्लेखनीय छ । धरावासीको स्टाटसभन्दा लामो गाउँलेको टिप्पणीमाथि ५० जनाले रियाक्ट गरेका छन् ।
नारायण गाउँलेको सटीक टिप्पणी
“एउटा स्रष्टा बेलायत आउँछ, म तीन दिन कामबाट बिदा लिन्छु । अन्य साथीहरूसँगै एअरपोर्ट पुगेर रिसिभ गर्छु । एअरपोर्टको पार्किङ अन्यत्रभन्दा धेरै नै महँगो हुन्छ । कुनै पनि प्रकारको रगतको नातो नभएको उक्त स्रष्टालाई म तीन दिन घरको सबैभन्दा राम्रो कोठा र बिस्तरा दिन्छु । अन्य बीस काम छोडेर गाडी, ट्रेन र ट्याक्सीमा घुमाउँछु । खाजादेखि संग्रहालयसम्मका टिकट म आफै काट्छु । परिवार र बच्चासँग बिताउनु पर्ने सप्ताहान्त म ऊसँगै बिताउँछु । र फेरि सानोतिनो उपहारसहित एअरपोर्ट छोड्न पनि मै पुग्छु ।”
यो ‘म’ म मात्रै नभएर हामी धेरै हौँ । बेलायत बेलायतमात्र नभएर अमेरिका, जापान, यूएई, भारत या अस्ट्रेलिया जस्ता धेरै देश हुन् । धेरैले आफ्नै गोजीबाट टिकट काटेर स्रष्टालाई आफ्नो शहर, जिल्ला या विदेश बोलाउँछन् । कार्यक्रम पनि आफ्नै खर्चमा गर्छन् । पारिश्रमिक पनि दिन्छन् र त्यसबाट कटाएको सानोतिनो रकम नेपालमा समाजसेवाका लागि पठाउँछन् । यस्तो किन गर्छन् ? तपाईंका शब्द र भाव अनुसार त कागज र मसी पनि सित्तैमा आउँदैन ।
समाज, खासगरी हाम्रो पूर्वीय समाजमा सबै कुरा व्यावसायिक भएको छैन । व्यवसाय नै पनि मौद्रिक भएको छैन । कतिपय कुराहरू कुराकै लागि, अरूलाई खुशी बनाएर मिल्ने आनन्दका लागि, सहधर्मीहरूको उन्नयन र सहयोगका लागि अनि ठूला कम्पनीहरूले कर्पोरेट दायित्व भनेर समाजसेवामा रकम छुट्याएझैँ सामाजिक दायित्वका रूपमा गरिँदै आएका छन् ।
एउटा लेखक आउँदा एअरपोर्ट पुग्ने म कृषि कर्म गरेर देश र नागरिकलाई हजार गुन लगाएको कृषक आउँदा पुग्दिन । अझ उक्त कृषक त एअरपोर्टसम्मै आउन सक्दैन, किन ?
पैसा मात्रै कमाइ भन्ने हुँदैन । पैसाले पनि अन्ततोगत्वा कमाउने भनेको इज्जत र सम्मान नै हो । एउटा लेखकको रूपमा कमाएको त्यो सम्मान, रिकग्निशन र प्रतिष्ठा एकदम व्यक्तिगत कमाइ होइन । त्यसमा तपाईंले माथि उल्लेख गरेका हरेक कम्पोनेन्ट र पाठकको पनि उत्तिकै योगदान हुन्छ । लेखक एउटा व्यक्ति नरहेर एउटा संस्था जस्तै बनेको हुन्छ ।
जसरी माइक्रोसफ्ट भन्ने कम्पनीले सबै कमाइ मेरो हो भन्न मिल्दैन र कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत आम्दानीको एउटा ठूलो हिस्सा समाजको सेवा र उत्थानमा खर्च गर्न पर्छ र गर्छ । लेखकको पनि त्यस्तै सामाजिक दायित्व बन्छ । एउटा किताब लेखेर पाँच लाख कमाउने र गाउँमा दश लाखको पुस्तकालय स्थापना गरिदिन पक्कै सकिन्न । के सकिन्छ त भन्दा, तपाईंकै लेखहरू पढेर लेखनमा अगाडि बढ्न खोजेको पुस्तालाई समीक्षा होस् या भूमिका, लेखिदिएर, हौसला दिएर यो दायित्व पूरा गर्न सकिन्छ ।
सक्नेबाट लिने, पुस्तक बिक्यो र कमर्सियल्ली सफल भयो भने रोयल्टीबाट अलिकति हिस्सा पाउने गरी प्रकाशकसँगै संयन्त्र निर्माणमा कोसिस गर्ने जस्ता काम गर्न सकिन्छ । पूर्ण व्यावसायिक उद्देश्य र सम्भावनाका पुस्तक या लेखकले भूमिका लेखाएर पारिश्रमिक नदिनु गलत नै हो । तर, एउटा लेखकले अबदेखि म बिना पारिश्रमिक भूमिका लेख्दिन, समीक्षा गर्दिन या बोल्दै बोल्दिन भन्ने जस्तो सार्वजनिक घोषणा गर्नु हामीजस्ता पाठकलाई बिझाउने विषय हो ।
एकपल्ट पाठकको नजरबाट हेर्नुहोला । उसले काठमाडौंमा तपाईंका दर्जन पुस्तक किन्छ । घरबाट विदेश लैजान भनेर ल्याएको गुन्द्रुक र भटमास झिक्छ र त्यो पुस्तक लगेजमा हाल्छ । सिड्नी, टोकियो या लण्डन पुगेपछि आफै मान्छेका घरमा पुग्छ र ती किताब बाँड्छ । अनि खुशी हुन्छ । अब उसको के शोषण भयो भन्ने ?”
मंगलबार दिउँसो सवा चार बजे गाउँलेको यो टिप्पणी (कमेन्ट) आएपछि साहित्यकार धरावासीको स्टाटसले उठाउन खोजेको कुरामाथि राम्रै बहस भएको छ । बहस ध्रुवीकृत छ, केहीले धरावासीको पक्ष लिएका छन् भने केहीले गाउँलेलाई समर्थन गरेका छन् । अझ केहीले त भूमिकाको भाउ र सर्जकको सम्मान दुवै चाहिने मध्यमार्गी विचार पनि अगाडि सारेका छन् ।
गाउँलेले नयाँ कोणबाट बहसलाई फैलाएका छन् । गाउँलेको टिप्पणीमाथि चार घण्टापछि प्रतिटिप्पणी (रिप्लाई) दिँदै कवि नेत्र एटम लेख्छन्, “तपाईंले सही कुरा उठाउनुभयो गाउँलेजी । सिर्जना प्यासन हो, पाठकको मायाले उसलाई गजुरका रूपमा स्थापित गरेको हुन्छ । एउटा स्रष्टाको अहममा कति पक्षको लगानी र योगदान छ भन्ने कुरा उसले छिट्टै भुलिहाल्नु राम्रो लक्षण मान्न सकिन्न । पैसा नभई ‘भूमिका लेख्दिनँ, कार्यक्रममा बोल्दिनँ’ भन्न पनि नसक्ने अनि पैसा दिएनन् भनेर सार्वजनिक गुनासो गर्ने दोहोरो प्रवृत्तिले लेखकको नियत असल देखाउँदैन, उसको इज्जत बरु केही घटाउला, कत्ति पनि बढाउँदैन । धरावासीजीको कुरा उपयुक्त छ भने यहाँ टिप्पणी गर्ने सयौं साथीहरूलाई भोलिदेखि नै उक्त कुरा लागु गर्न केले छेकेको छ र ? विश्वविद्यालयका प्राडाले साहित्य बिगारे भनेर कोकोहोलो गर्ने साहित्यकारहरूले भूमिकालेखन र कार्यक्रममा किन सहभागी गराउनै पर्ने होला ? पाठक सर्वस्व हुन् पनि भन्ने अनि मेरो समालोचना कसैले लेखिदिएनन् भनेर हरेक मञ्चमा गुनासोको आँसु पनि झार्ने दोहोरो चरित्र किन देखाउन पर्ने होला ? भूमिकाको काम छैन पनि भन्ने अनि आफ्नो प्रशांसा लेखाउन मरिमेट्ने पनि, साथीहरूको यस्तो दोहोरो मापदण्ड देख्दा अचम्म लाग्छ । मचाहिँ पारिश्रमिक लिएर भूमिका लेख्दिनँ, एनजिओको कार्यक्रममा गएर बोलेपछि बुझेजस्तो खाम साहित्यिक कार्यक्रममा अपेक्षा पनि राख्दिनँ । सकिन्छ भने मन लागेको कृतिको भूमिका लेखौं, अपेक्षाका बारेमा पहिले नि स्पष्ट बोलौं, पछिल्लो पुस्तालाई सिर्जनात्मक निरन्तरताका निम्ति अलिकति प्रोत्साहित गरौं । म त भूमिकाको पनि अर्थ देख्छु, समालोचनाको पनि अपेक्षा राख्छु, कार्यक्रमका वक्ताको पनि महत्वपूर्ण भूमिका पाउँछु । नत्र त आजकल नायक, नायिका, कलाकार र चर्चित राजनीतिज्ञलाई ठुला प्रकाशकले किन लोकार्पणका मञ्चमा प्रदर्शन गराउँदा हुन् ?”
बेलायतबाट गाउँलेको टिप्पणी आएको साढे ६ घण्टापछि अमेरिकाबाट धरावासीले प्रतिटिप्पणी (रिप्लाई) गर्दै लेख्छन्, “तपाईं बेलायतमा कुनै पारिश्रमिक नलिई काम गर्नु हुन्छ हो ? मेरो पुस्तक कसकसले किने, कसकसले पढे मलाई थाहा हुन्न । उनीहरूलाई किनेर पढ्न कर पनि हुन्न । तर मैले कसकसको काम विना पारिश्रमिक गर्नुप¥यो भन्ने थाहा छ ।”
हाल अमेरिकामा रहेका धरावासीको स्टाटसमाथि गाउँलेको टिप्पणीको प्रतिटिप्पणीलाई अगाडि बढाउँदै बुधबार बिहान ३ बजे रसुवाली कवि लेख्छन्, “नारायण गाउँलेज्यू, तपाईंको कुरा पनि ठिकै हो । यहाँनेर खड्किएको विषयचाहिँ साहित्य व्यावसायिक नहुनु पनि हो । यदि नेपाली किताबको बजार बलियो भइदिएको भए कृष्ण धरावासीज्यूले यस्तो स्टाटस लेख्न पर्दैनथ्योे जस्तो लाग्छ । पारिश्रमिक लिएर भूमिका लेख्ने विषयमा प्रदीप नेपालको नाम पनि जोडिन्छ । उनले यो विषय दशकौँ अगाडि उठाएका थिए ।
ओजिलो भूमिकाले किताबलाई गुणात्मक बनाउन सघाउँछ । उत्कृष्ट लेखकको सिर्जना हुनुपर्छ, भूमिका हैन । भूमिकाको नाउँमा आशीर्वादको खेती भएको छ । साहित्य सिर्जनामा सिर्जनात्मकतामा कमी आएको छ । यसैले लेखक भूमिकाको टेको लगाएर उभिन चाहन्छ । भूमिकाको शक्ति कति हुन्छ शिरिषको फूलमा शंकर लामिछानेको भूमिकालाई हेरे पनि काफी छ । भूमिका कति कर्मकाण्ड भएको छ, आजको आशीर्वचनको खेतीलाई हेरे पनि पुग्छ । यो विषयमा थुप्रै कोणबाट बहस गर्न सकिन्छ ।”
रसुवाली कविको प्रतिटिप्पणीलाई चार घण्टापछि सम्बोधन गर्दै गाउँले लेख्छन्, “सार्वजनिक प्रश्न बनेकोले मन्थनकै लागि आफ्नो पाठकीय धारणा राखेको मात्रै हो । तर्क र सत्य दुबैतिर छन् नै । निराधार तर्कमा उभिएको घोषणापत्र भएको भए प्रतिक्रिया लेख्न जरूरी हुँदैनथ्यो ।
लेखकीय पाटो राम्ररी आइसकेकै छ धरावासी सरबाट । मैले छिस्स पाठकीय पाटो मिसाएको हो । श्रमको मूल्यसँग असहमति होइन, ‘अब नलेख्ने’ ठोस घोषणाले अलिकति चस्को पसेर प्रतिक्रिया दिएको थिएँ । हामीले फेस भ्यालुमा हे¥यौं, उहाँका आफ्नै तीतामीठा अनुभव पनि होलान् अन्तर्यमा । बहसको त यो विषय नै हो र बनेकै पनि छ ।”
बहसले जन्माएका प्रश्न
दर्जनौँ पुस्तक लेखिसकेका र राधा उपन्यासका लागि मदन पुरस्कारबाट सम्मानित स्रष्टा कृष्ण धरावासीले उठाएको विषय र त्यसमाथिका बहसले धेरै प्रश्न जन्माएको छ । पहिलो र अहम् प्रश्न, भूमिका लेखन होस् वा अन्य कुनै पनि लेखनको मूल्यलाई मौद्रिक मापन गर्नु पर्छ कि पर्दैन ? कतिपय नयाँ लेखकले लेखकस्व नै पाउन नसकेको वर्तमान समयमा तिनै लेखकको भूमिकाको भाउ खोजिनु न्यायसंगत छ ? अझ यसो भनौँ, पुस्तकमा भूमिका आवश्यक छ ? अनिवार्य हो ? सम्मानले मात्र सर्जक बाँच्न सक्छ ? निजी क्षेत्रका प्रकाशन संस्था हाबी रहेको पुस्तक बजारमा आफैँले लगानी गरेर आफ्नो पुस्तक छापिरहेका नवलेखकबाट भूमिकाको भाउ कति पाउन सकिएला ? अब पुस्तकबाट भूमिकालाई नै बाइबाइ पो गर्ने हो कि ? पछिल्ला पुस्तकहरु भूमिकाविहीन छन् पनि ।
भूमिकाको भाउ खोजेर आएको कृष्ण धरावासीको स्टाटसले सुरु गरेको बहसका क्रममा आएको एउटा महत्वपूर्ण कुरा भनेको पुस्तकको पाण्डुलिपि पढेर सुझाव दिने, भूमिका लेखिदिने, समीक्षा गरिदिने, पुस्तक प्रकाशनका क्रममा भाषा सम्पादन गरिदिने एवं शुद्धाशुद्धि हेरिदिनेहरुले पारिश्रमिक पाउनै पर्छ । यसो भन्दैमा नवलेखक जो पैसाको बलमा नभई सिर्जना र प्रतिभाको बलमा अगाडि आउन खोजिरहेको छ, उसलाई साथ दिनको लागि पारिश्रमिकको विषयमा आँखा चिम्लिनु पर्ने पो हो कि ? नयाँ प्रतिभालाई अगाडि बढाउनु अग्रजहरुको दायित्व पनि त हो ।




