जुम्ला२४ माघ
जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो ।
आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गर्नुभयो ।




