काठमाडौं २२ चैत
सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।जवाहरलाल नेहरू मार्गको गान्तोक-नाथुला खण्डमा गएको हिमपहिरोमा परी मृत्यु हुनेमध्ये चितवनका शिवप्रसाद लामिछाने‚ २२ वर्षीया आशीका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै‚ हिमपहिरोमा परी १३ जना घाइते भएका छन्। घाइतेमध्ये नेपालका ४० वर्षीया गीता सापकोटा‚ ३८ वर्षीया ज्योति गुरुङ र ४३ वर्षीय रमेश खनाल रहेका छन्।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले एसटीएनएम अस्तताल पुगेर घाइतेहरूबारे जानकारी लिएका छन्। हिमपहिरोमा करीब डेढ सय पर्यटक फसेका थिए। उनीहरूको उद्धार गरिएको छ।




