काठमाडौं ५ वैशाख
नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । तनहुँ-१ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ जान लागेका हुन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
गत मंसिर ४ गते भएको आमनिर्वाचनमा तनहु–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ– १ को चुनावी सभालाई आज कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र नेकपा (माओवादी केन्द्र) का महामन्त्री देव गुरुङले सम्बोधन गर्नेछन् ।




