काठमाडौ १४ वैशाख
एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाएको थियो।
नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए भने कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रनको योगदान दिए। अन्य सबै ब्याट्सम्यानको प्रदर्शन कमजोर रहँदा नेपाल १५७ मा समेटिएको थियो।
१५८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका कतारका खेलाडी नेपाली बलरको धारिलो बलिङका सामु टिक्न सकेनन्।एकपछि अर्को विकेट गुमाउँदै गए र २५.५ ओभरको समाप्तिमा सम्पूर्ण विकेट गुमाउँदै कतार ८९ रनमा समेटियो।
नेपालका तर्फबाट लामिछानेले ५, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिए।
सेमीफाइनलमा पुग्ने टुंगो यस खेलअगाडि नै लागे पनि समूह विजेता भने यो जीतपछि मात्र भएको हो । अब सेमीफाइनलमा ‘समूह बी’को उपविजेतासँग खेल्नेछ ।




