काठमाण्डौ – आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर अर्को बैठक आउँदो आइतवार दिउँसो सवा १ बजे बस्ने जानकारी गराएको हो ।
आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची थियो । यी तीन वटै बजेट आश्रित विधेयक हुन् । बजेट भने राष्ट्रिय सभाले पारित गरिसकेको छ ।
नेकपा एमालेले सरकारले आयकर ऐन २०५८ को दफा ५७ मा गर्न खोजेको संशोधन प्रस्ताव हटाउन माग गरेको छ । एमालेको यही संशोधन प्रस्ताव कांग्रेस र एमालेले पास गर्ने तयारी गरेपछि बैठक नै स्थगित भएको हो । अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाको अध्यक्षले बैठक स्थगित गर्नुभएको हो । बैठक स्थगित गर्ने काम गलत भएको भन्दै कांग्रेस, एमाले, जसपा र लोसपाले आपत्ति जनाएका छन् ।
बैठक स्थगित भएपछि एमाले, कांग्रेस, जसपा र लोसपाका संसदीय दलका नेताहरूले संयुक्त विज्ञप्ति निकालेर विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकार समेत हनन भएको उल्लेख गरेका छन् ।




