जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरासहित तीना जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा दमक वडा न६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीपका छोरा २९ वर्षीय विश्व लिङ्देन , दमक वडा नं ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।
लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जना पक्राउ परेको हो ।
पुरीको कोठामा रानीपोखरीबाट लुटिएको टाइप–५४ नामको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भयो । सोधपुछका क्रममा उनले एउटा पेस्तोल र गोली दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताए ।
विश्व नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेका उनले केपी शर्मा ओलीलाई पराजित गरेका थिए । माओवादी छाडेर उनी पछिल्लो समय नेपाली कांग्रेसमा छन् ।
पुरीको बयानका आधारमा प्रहरीले २९ वर्षीय विश्व लिङ्देनलाई घरबाटै पक्राउ गर्यो । सोधपुछ गर्दा उनले आफूसँग भएको हतियार इलामका साथीलाई बेचेको बयान दिए ।
उनको बयानकै आधारमा सोमबार प्रहरी टोली पेस्तोल खोज्दै इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुग्यो । विश्वको बयानका आधारमा आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वा सोधपुछ गर्दा २० हजार रुपैयाँमा किनेको पेस्तोल बारीमा लुकाएको बयान दिए ।
उनको बयानका आधारमा उत्खनन् गर्दा रातो प्लास्टिकको झोलामा बेरेर राखेको अवस्थामा ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल भेटियो । माटोमा गाडेका कारण पेस्तोलमा खिया लागेको थियो ।
‘विश्वले सुरुमा २० हजार रुपैयाँमा बेचेको भन्यो, पछि फेरि राख्न दिएको भन्दैथियो,’ प्रारम्भिक अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ,‘ लागुऔषध कारोबारी खोज्ने क्रममा हतियार भेटिएको हो, तीनै जना लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन् । रानीपोखरीले थप अनुसन्धान गर्ला ।’
बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई कारबाही अघि बढाउन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।




