काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन हुँदै भैरहवा जाने भएका छन् । भैरहवामा मौसम प्रतिकूल बनेपछि उनी काठमाडौँबाट विमानमार्फत भरतपुर पुग्ने र त्यहाँबाट सवारी साधनमार्फत भैरहवा जाने कार्यक्रम तय गरिएको हो ।
यसअघि शुक्रबार बिहान नै लामिछानेलाई भैरहवा लैजान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । तर भैरहवामा बाक्लो कुहिरो लागेका कारण उडान अनिश्चित बनेपछि स्थगित गरिएको थियो ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।
अदालतले तोकेको धरौटी रकम रुजु भई छुटपुर्जी जारी भएपछि लामिछाने आजै रिहा हुने तयारीमा रहेका छन् ।




