ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६, भदौरेमा मंगलबार राति एक दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
हत्या हुनेमा ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगर रहेका छन्। दुवै जना आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। उनीहरू घरमा एक्लै बस्दै आएका थिए भने उनका छोराछोरी घर बाहिर रहेका थिए।
बुधबार बिहान लामो समयसम्म दम्पती घरबाट बाहिर ननिस्किएपछि र कुनै प्रतिक्रिया नआएपछि छिमेकीहरूले शंका गरी घर जाँच गरेका थिए। घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै ओखलढुंगा जिल्ला प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय, धरानबाट तालिमप्राप्त ट्र्याकिङ कुकुर झिकाई घटनास्थलमा अनुसन्धान सुरु गरेको छ। प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा पुगेको टोलीले घटनास्थल सिल गरी विस्तृत अनुसन्धान अघि बढाएको छ।
शंकास्पद व्यक्तिहरूको निगरानी भइरहेको तर हालसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार ट्र्याकिङ कुकुरको सहयोगमा घटनास्थलको पूर्ण परीक्षण सम्पन्न नभएसम्म शव नहटाइने जनाइएको छ।
यसअघि पनि केही महिना अघि ओखलढुंगाकै सिद्धिचरण नगरपालिका–४ मा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्की आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। उक्त घटनाका अपराधी हालसम्म पक्राउ नपरेकाले स्थानीयवासीमा त्रास बढेको छ।
प्रहरीले दुवै घटनाबीच सम्बन्ध हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राख्दै अनुसन्धान तीव्र बनाएको जनाएको छ।




