सुनसरी । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालक विजय साहको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । साहको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा बुधबार राति करिब १२ बजे भारतबाट चिनी तस्करी गरी नेपालतर्फ आउँदै गरेको समूहसँग भएको दोहोरो भिडन्तको क्रममा सशस्त्र प्रहरीको जवाफी फायरिङमा परेर स्थानीय मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनापछि स्थानीयवासीले शव उठाउन समेत दिएका छैनन् । स्थानीयवासीहरूले लौकही बजारस्थित सशस्त्र प्रहरी बलको ड्युटी पोस्टमा आगजनी गरेका छन् । भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।




