पर्सा । धार्मिक सद्भाव भड्किन सक्ने अवस्थालाई मध्यनजर गर्दै वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको जनाएको छ।
धनुषामा मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा बिहानदेखि मुस्लिम समुदाय तथा हिन्दूवादी संगठनहरूले छुट्टाछुट्टै प्रदर्शन गरेका थिए। दुवै समुदायबीच प्रदर्शन भएपछि अवस्था तनावग्रस्त बनेको र शान्ति सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यू आदेश जारी गर्नुपरेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेट आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको आदेशअनुसार निषेधाज्ञाको अवधिमा सभा, भेला तथा जुलुस–प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।




