काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अभियोग पत्र संशोधन गर्ने निर्णय विरुद्ध परेको रिटमा आज बिहीबार सुनुवाइ हुन सकेन।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेसी सूचीको पहिलो नम्बरमै तोकिएको थियो। तर, इजलास सुरु हुनुअघि नै न्यायाधीश बालकृष्ण ढकालले उक्त मुद्दा आफूले ‘हेर्न नमिल्ने’जानकारी गराएपछि सुनुवाइ रोकिएको हो। अब उक्त रिटको सुनुवाइ माघ ११ गतेका लागि तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियाे । महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूबाट ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयलाई ‘गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ ठहर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दायर गरेका थिए।




