काठमाडाैं । विराटनगरमा ६० वर्षीय पुरुषबाट क्रूर र अमानवीय यौन हिंसाको सिकार बनेकी ‘मिली’ (कुकुर) लाई थप उपचार र सुरक्षाका लागि काठमाडौँ ल्याइएको छ। बुद्ध एयरलाइन्सको सहयोगमा काठमाडौँ ल्याइएकी मिलीको अहिले एएमसी (AMC) मा स्वास्थ्य परीक्षण र उपचार भइरहेको छ।
चिकित्सकीय परीक्षण र प्रारम्भिक अनुसन्धानबाट मिलीमाथि विगत ७ महिनादेखि निरन्तर यौन दुर्व्यवहार हुँदै आएको विचलित पार्ने तथ्य खुलेको छ। गर्भवती अवस्थामा रहेकी मिलीलाई आरोपीले नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट) खुवाएर बेहोस बनाउँदै यस्तो कुकृत्य गर्ने गरेको पुष्टि भएको छ। अत्यधिक नशालु औषधिको प्रयोगले उनको स्वास्थ्य अवस्था संवेदनशील रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
पशु कल्याणको क्षेत्रमा सक्रिय गैरसरकारी संस्था ‘सङ्कल्प’का संस्थापक पशुअधिकारकर्मी इरफान खान विराटनगर पुगेर उक्त कुकुरको उद्दार गरेका हुन् । उनले गत मंगलबार सो भिडियो सेयर गरेका थिए । खानले कुकुरको स्वास्थ्य अवस्था सुधार भएपछि अडप्ट गर्न चाहेमा जिम्मा लगाउने बताएका छन् ।
“उनले भोगेको यो भयानक आघातबाट बाहिर ल्याउन हामी माया र सुरक्षाका साथ हरसम्भव प्रयास गर्नेछौँ,”खानले बताएका छन्।
घटनाका मुख्य आरोपी ६० वर्षीय दलबहादुर राई अझै फरार छन्। प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको छ। पशु अधिकारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आरोपीलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरिरहेका छन्।
मिलीको उद्धार र काठमाडौँ स्थानान्तरणमा एलिना प्रसाईं र उनको टोली, साहारा केयर, स्वाना रेस्क्यू, एनिमल नेपाल लगायतका संस्थाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसैगरी, बुद्ध एयरलाइन्सले मिलीलाई निःशुल्क वा विशेष सहयोगमा काठमाडौँ ल्याउन मद्दत गरेकोमा अधिकारकर्मीहरूले धन्यवाद ज्ञापन गरेका छन्।
पशुमाथि हुने यस्तो जघन्य अपराधले समाजको नैतिक स्तरमाथि नै गम्भीर प्रश्न उठाएको भन्दै यसविरुद्ध एकजुट हुन अधिकारकर्मीहरूले अपिल गरेका छन्।




